दफा ९२
निर्जीवन बीमाको दाबी फस्यौंट सम्बन्धी अन्य व्यवस्था


(१) नियम ९१ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास बीमा दाबीको क्षति मूल्याङ्कन गर्न नेपालमा इजाजतपत्रप्राप्त सर्भेयर उपलव्ध हुन नसकी विदेशी सर्भेयर नियुक्त गर्नु पर्ने भएमा सोको स्पष्ट आधार र कारण खुलाई प्राधिकरणमा स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा विदेशी सर्भेयरले इजाजतपत्र प्राप्त नेपाली सर्भेयरसँग संयुक्त सर्भे गर्ने गरी प्राधिकरणले स्वीकृति दिन सक्नेछ।

(३) बीमक आफैँले क्षति मूल्याङ्कन गर्ने अवस्थामा नियम ५२ बमोजिमको अवधिभित्र क्षति मूल्याङ्कन गर्नु पर्नेछ।

(४) बीमालेखमा अन्यथा उल्लेख गरिएकोमा बाहेक बीमकले दाबी भुक्तानी गर्दा घटना घटेको समयमा भएको वास्तविक क्षति वा बीमाङ्क रकम जुन कम हुन्छ सो बराबरको रकम मात्र दाबी भुक्तानी गर्नु पर्नेछ।

(५) यस नियममा जुनसुकै कुरा लेखिएको भए तापनि गम्भीर प्रकृतिको प्राकृतिक वा गैरप्राकृतिक विपद्‌ वा महामारी घोषणा भएको क्षेत्रमा त्यस्तो अवधिभर प्राधिकरणले दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि बनाई लागू गर्न सक्नेछ ।

(६) काबु बाहिरको परिस्थिति परी तोकिएको समयभित्र बीमकले सर्भेयर खटाउन वा खटाइएको सर्भेयरले क्षति मूल्याङ्कन प्रतिवेदन- बीमक समक्ष पेस गर्न नसकेमा बीमितको सहमतिमा थप समय प्रदान गर्न सकिनेछ र्‌ सोको जानकारी प्राधिकरणमा दिनु पर्नेछ।

(७) कुनै बीमा दाबी शङ्कास्पद देखिएमा बीमकले आवश्यकता अनुसार दाबी अन्वेषक खटाउन सक्नेछ र सोको जानकारी प्राधिकरणलाई दिनु पर्नेछ।